काठमाडौंः शनिवार देशभर थप १० हजार २ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको बुलेटिनमा २० हजार १ सय ८७ परीक्षण गर्दा १० हजार २ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो । शनिबारसम्मको अवधिमा सक्रिय संक्रमितको संख्या ७२ हजार ८ सय ६२ पुगेको छ ।
शनिबार थप ७ सय ८ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या आठ लाख २० हजार २ सय ८३ पुगेको छ । शनिबारसम्म संक्रमणमुक्त हुने दर ९०.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, कोरोना संक्रमणका कारण शनिबार १६ जनाको मृत्यु भएको छ । शनिबारसम्म ११ हजार ६ सय ५१ जनाको संक्रमणका कारणले मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, शनिबारसम्म ५ सय भन्दा बढी संक्रमण भएको जिल्ला १५–१५ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।
यस्तै २ सय भन्दा बढी संक्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिराहा, नुवाकोट, धादिङ, गोरखा, तनहँु, स्याङ्जा, बागलुङ, दाङ, सुर्खेत र कञ्चनपुर रहेका छन् । नेपालमा संक्रमणदर १७.७ प्रतिशत रहेको छ ।
शनिबारसम्म होम आइसोलेशनमा ७१ हजार २ सय ६१, संस्थागत आइसोलेशनमा एक हजार ६ सय १, आइसीयूमा २ सय १० र भेन्टिलेटरमा ३७ जनाको उपचार हुँदैछ । शनिबार देशभर एक लाख ९६ हजार ८ सय ५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
शनिबार सम्मको अवधिमा कोरोना विरुद्धको पहिलो मात्रा एक करोड ६२ लाख ४२ हजार ४ सय ५६ जना र पूर्ण मात्रा एक करोड २८ लाख ७० हजार ८ सय ६७ जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज एक लाख ४२ हजार ५ सय ८९ मात्रा लगाइएको छ ।






